चन्द्रपुर – शिलान्यास गरेको ७ महिनामा पनि निमार्ण कार्य सुरु नभएको भन्दै चन्द्रपुर नगरपालिका वडा नम्बर २ का सर्वसाधरण आन्दोलित भएका छन् । गत भदौ २४ गते तत्कालिन शहरी विकास मन्त्री मेटमणी चौधरीको उपस्थितिमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले शिलान्यास गरेको सो पूर्वपश्चिम राजमार्गदेखि असनवा जोड्ने सडक बन्ने कुनै सुरसार नभएको भन्दै स्थानियले संघर्ष समिति बनाएर आन्दोलनको घोषणा गरेका छन् । आन्दोलनको पहिलो चरणमा स्थानियले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर मार्फत शहरी विकास तथा भवन निमार्ण विभाग , चन्द्रपुर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । ‘चन्द्रपुर नगरपालिका वडा नम्बर २ शहिद गेटदेखि असनवा जाने बाटो कालोपत्रे गर्नका लागी शिलान्यास समेत भई राष्ट्रिय स्तरको पत्रीकामा टेन्डर खुल्ला समेत भइ सकेको तर उक्त सड़क निर्माण कार्य आजसम्म शुरु नगरेकाले स्थानियवासीलाई सडकमा हिडडुल गर्न अफ्ट्यारो भएको , सडक धुलाम्य हुने अवस्था रहेको हुँदा उक्त सडक निर्माण कार्य कति कारणले शुरू नभएको हो ? भन्ने विषयमा हामी स्थानियवासीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ ध्यानाकर्षण पत्रमा भनिएको छ । सो पत्रमा उक्त सडक निर्माण कार्य अविलम्ब नगरे स्थानिय कडा आन्दोलनमा उत्रने र सो को जिम्मेवार सम्बन्धित निकायनै हुने चेतावनी दिइएको छ । ध्यानाकर्षण पत्र बुझ्दै सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दारोगा प्रसादले आफु पनि सो सडकको विषयमा गम्भिर भएको भन्दै स्थानियको गुनासो सम्बन्धित निकाय समक्ष राखेर छिटोभन्दा छिटो सो सडक निमार्ण कार्य सुरु गर्न पहल गर्ने प्रतिवद्धता जनाए । आफुहरुको वडामा रहेका अन्य सहायक सडकहरु कालोपत्रे हुँदा मुख्य सडकभने वर्षौदेखि जिर्ण अवस्था रहँदा पनि कसैले चासो नदेखाएकाले आफुहरु आन्दोलित हुनु परेको स्थानिय खेम कार्कीको भनाइ छ । उनले करिब ७ किलोमिटर मुख्य सडकको कालोपत्रे गर्ने भन्दै धेरै पटक नापजाँच गरिएको भएपनि निमार्ण सरु नहुँदा जनता झुक्याउने काम मात्र भएको गुनासो गर्दै यथासक्य चाँडो सडक निमार्ण कार्य सुरु गर्न माग गरे । अर्का स्थानिय टेकनाथ खरेलले पूर्व प्रधानमन्त्री र मन्त्री आफै आएर शिलान्यास गरेपछि अबचाहिँ धुलाम्ये सडक कालोपत्रे हुन्छ भनेर आफुहरु निकै आशावादी रहेपनि शिलान्यासको ७ महिना बितिसक्दा पनि काम गर्ने सुरसार नभएपछि आफुहरु वाध्य भएर संघर्षमा उत्रनु परेको बताए ।